हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा ‘एन्फा प्रेसिडेन्ट लिग २०२५’ प्रतियोगिता हेटौंडामा हुने भएको छ । कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म हेटौंडा–६ स्थित गौरिटार रंगशालामा एन्फा प्रेसिडेन्ट लिग प्रतियोगिता हुने भएको हो ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिताको बारेमा जानकारी गराएका छन् । प्रतियोगितामा देशका विभिन्न प्रदेशका उत्कृष्ट क्लबहरूबीच प्रतिस्पर्धा हुनेछ । समूह चरणपछि सेमिफाइनल र फाइनल खेलाइने प्रवक्ता शाहले बताए । यस प्रतियोगिताले स्थानीयस्तरमा फुटबलको विकास र राष्ट्रियस्तरका प्रतिभा पहिचानमा सहयोग पुर्याउने एन्फाको विश्वास छ ।
मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा रहने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको एन्फाले जनाएको छ । प्रतियोगितामा गाईघाट फुटबल क्लब (उदयपुर), दर्सनी युवा क्लब (बर्दिया), नव जागृति क्लब (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), त्रिशूली फुटबल क्लब (नुवाकोट), हिरान क्लब (ताहाचल), टाइगर टीम फुटसल क्लब (ललितपुर), जन जागृति युवा क्लब (बर्दिया), काँकडभिट्टा युवा क्लब (झापा) र ललिगुराँस स्पोर्ट्स क्लब (धनकुटा) को सहभागिता रहने छ ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेता ५ लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब रु. १ करोड ५ ४ लाख ५४ हजार बराबरको बजेट विनियोजन गरिएको एन्फाले जनाएको छ ।


































प्रतिक्रिया दिनुहोस्