गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । गैर आवासीय नेपाली सङ्घको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ ।

गतवर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता वासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) छन् ।

प्रमुख संरक्षक शेष घलेले सङ्घको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ । संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सहसंयोजकमा अर्का उपाध्यक्ष मन केसी रहनुभएको छ । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहनेछन् ।

दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११) सम्म काठमाडौंमा आयोजना हुने बताइएको छ । गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसके पछि आइसीसीले प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

उच्चस्तरीय समितिले झण्डै २,६०० मतदाताहरु रहेको सूची तयार गरेको छ। सोही सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ । प्रमुख संरक्षक घलेले सङ्घका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौं आउन आग्रह गर्नुभएको छ । उहाँले संस्था जोगाउन र एकजुट पार्न विधानले दिएको अधिकार प्रयोग गरी आफुले उक्त निर्णय गरेको बताउनुभयो । उहाँले नेपाल सरकारसँग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो