प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली पार्टी एक्लै चुनाव लडेर जित्न तयार रहेको बताउनुभएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले यस्तो बताउनुभएको हो।

सत्ता गठबन्धनका दल आगामी चुनावमा तालमेल गरेर अगाडि बढ्ने चर्चा चलिरहेका बेला ओलीले यस्तो बताउनुभएको हो। अध्यक्ष ओलीले स्थानीय वा जुनसुकै चुनावको परिणाम हेर्न चेतावनी दिनुभएको छ।

‘पाँच वटा होइन जतिवटा दल मिलेर आए पनि हुन्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘एक्लै चुनाव लड्न र जित्न एमाले तयार छ। स्थानीय तह वा जुनसुकै चुनाव भए पनि परिणाम हेर्नुहोस्।’

ओलीले पार्टी कृत्रिम ढंगले अगाडि बढ्ने कुराको विरोधमा रहेको बताउनुभयो। सरकार कृतिम ढंगले अगाडि बढेको आरोप लगाउँदै उहाँले यस्तो बताउनुभएको हो।

‘यो जनादेशमा होइन, आदेशमा बनेको सरकार हो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘ताजा जनादेशमा जाने कुरालाई अस्वीकार गरेर कृत्रिम तरिकाले अगाडि बढ्ने कुराको विरुद्धमा एमाले छ।’

अनुशासन नभएका दललाई संसदमा राख्ने कुरा संसदीय व्यवस्थामा स्वीकार्य नहुने उहाँको भनाइ छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै ओलीले भावनात्मक रुपले लोकतन्त्र स्वीकार गर्न नसकेको आरोप लगाउनुभयो। संविधानको रक्षा गर्नुपर्ने ठाउँमा असंवैधानिक क्रियाकलाप भएको उहाँको भनाइ छ।

‘भावनात्मक रुपले लोकतन्त्र स्वीकार गरिनसकेका शक्ति सरकारमा छन्’, ओलीले भन्नुभयो, ‘संविधानको रक्षा गर्नुपर्ने ठाउँमा असंवैधानिक खालका क्रियाकलाप भइरहेका छन्।’

ओलीले लोकतन्त्रका लागि सँगसँगै लडेका काँग्रेस र एमालेबीच सहकार्य हुनुपर्छ भनेको कुरा स्वीकार गर्नुभएको छ। अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा भएको छलफलमा सहकार्यमा जोड दिएको उहाँले स्वीकार गर्नुभएको हो।

‘लोकतन्त्रका आधारभूत मूल्य मान्यता र संविधानको रक्षाका लागि लोकतन्त्रका लागि सँगसँगै लडेर आएका काँग्रेस र एमालेबीच सहकार्य हुनुपर्छ भनेका हौँ’, ओलीले थप्नुभयो, ‘त्यसमा हिजो र आज पनि हामी कन्भिन्स छौँ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो