


पहिले पहिले आगोलाग्दा दमकल वा मानिसले मात्र निभाउनुको विकल्प थिएन । जंगलमा आगो लाग्दा दमकल पुग्न बाटो छैन । शहरमा पनि साँघुरा गल्लीका कारण कतिपय ठाउँमा दमकल पुग्न सक्दैनन् तर अहिले आगो निभाउन हेलिकोप्टरको प्रयोग हुन थालेको छ ।
आइतबार दमौलीको शहरी क्षेत्रमा आगो लाग्यो । पाँच वटा दमकल र सुरक्षाकर्मी स्थानीय परिचालित हुँदा पनि आगो निभेन । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरले आगो निभायो । यस्तै पछिल्लो समय सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाको लुक्कास्थित जंगलमा लागेको आगो हेलिकोप्टरको सहयोगमा निभाइएको थियो ।
लुक्लाको जंगलको भीरमा आगो प्रवेश गरेका कारण हेलिकोप्टरलाई आगो निभाउन केही समस्या परे पनि सिपालु क्यापटेनले सजिलै आगो निभाउन सफल हुनुभएको थियो । हेलिकोप्टरबाट आगो निभाउन त्यति सजिलो छैन । यसका लागि तालिम प्राप्त पाइलटको आवश्यकता पर्छ ।
अहिले नेपालमा आगो निभाउन आवश्यक तालिम प्राप्त जनशक्ति र उपकरणसहित सिम्रिक एयरका दुई वटा मात्र हेलिकोप्टर रहेको सो एयरका मार्केटिङ्ग प्रमुख योगेश सापकोटाले बताउनुभयो । यो टोलीले ताप्लेजुङ्गको पाथिभारा, काठमाडौँको शिवपुरी वन, बालाजुको विस्कुट फ्याक्ट्री, सोलुखुम्बु, दमौली, र लुक्लाको दुई स्थानमा गरी सात ठाउँमा अग्नि नियन्त्रणको काम गरी सकेको छ ।
।
तनहुँमा भएकाे आगलागी नियन्त्रण गरिदै । तस्बिर : अमरराज नहर्की
सहज छैन हेलिकोप्टरबाट आगो नियन्त्रण
सिम्रिक एयरका क्याप्टेन सुरेन्द्र पौडेलका अनुसार क्याप्टेन हुँदैमा फायर फाइटिङ्गका लागि सजिलो हुँदैन । यसका लागि आगो नियन्त्रण तालिम आवश्यक पर्छ । पौडेलले सन् २०१२ मै हेलिकोप्टरबाट आगो नियन्त्रण गर्ने तालिम लिनुभएको थियो । तालिम लिए पनि नेपालमा यसको खासै औचित्य नरहेको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘आगो त जहाँ पनि लाग्छ, संसार भर तर विदेशी र हाम्रोमा आगलागी नियन्त्रणमा सरकारले गर्ने ‘डिल’ धेरै फरक छ ।’ विदेशमा फायर फाइटिङ्ग र जंगलकोसमेत बीमा गरिएको हुन्छ । नेपालमा त्यो व्यवस्था छैन । आँखा अगाडि लागेको आगो पनि कसले निभाउने अन्यौल छ ।
उहाँको अनुभवमा नेपालमा योजना अनुसारको शहर छैन । भौगालिक अवस्था त्यस्तै छ । बाटो छैन । त्यही अनुसार आफूले तालिम लिएको हो । क्याप्टेन पौडेलका अनुसार एक पटक तालिम लिएपछि ‘रिफ्रेसिङ्ग’ तालिम गर्नुपर्ने हुन्छ । विस्तारै दक्षता बढ्दै जान्छ । यो काम त्यति सहज पनि छैन । उहाँले भन्नुहुनछ,‘खतरा त्यति बेला हुन्छ, जब तालिम, दक्षता पुगेको हुँदैन ।’ उहाँ पूर्व सैनिक पनि हो । २० वर्षदेखि पाइलटको काम गर्दै आउनु भएको छ । आफूले सेफ्टी अपनाएर काम गरेकाले त्यस्तो खतरा नहुनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
आगो निभाउँदा अन्यको तुलनामा सैयौँ गुणा बढी जोखिन हुने सिम्रिक एयरकै मार्केटिङ्ग प्रमुख योगेश सापकोटाले बताउनुभयो । उहाँका अनुसार हेलिकोप्टरले आगो निभाउँदा आगो लागेको भागको सिधामाथि गएर पानी हाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा तातोले हेलिकोप्टर नै पड्कने सम्भावना हुन्छ । अहिले कतिपय अवस्थामा सर्वसाधरणले सिधँै एयरलाइन्सलाई फोन गर्ने गरेका छन् । उहाँका अनुसार मानिसले भनेको भरमा जाने कुरा हुँदैन तर पनि उद्धारको कार्य गर्न कुनै पनि नियम कानूनले रोक्दै । पहिलो कुरा मानवता हो । ज्यान बचाउनु ठूलो कुरा हो । उड्नुभन्दा पहिले नागारिक उड्डयन प्राधिकरणसँग अनुमती लिनु पर्ने हुन्छ । तर स्वयम् सेवकको रुपमा गएर आगो निभाए कसैले नरोक्ने पनि उहाँको भनाइ छ ।
पानी कै समस्या
‘हेलिकप्टर फायर ब्रिगेडले पानी बोकेर हिँड्दैन,’ आगो लागेको छेउछाउ कहाँ पानी छ त्यो हेर्छौँ,’ प्रमुख सापकोटाले भन्नुभयो । हेलिकोप्टरले आगो निभाउँदा सबैभन्दा राम्रो खोलाको पानी हुन्छ । त्यो भएन भने पोखरी, स्वीमिङ्ग पुल, ताल वा अन्य ठाउँको पानी पनि प्रयोग गरिने हुन्छ । हेलिकोप्टरमा बकेटको क्षमता एक हजार लिटरको छ । त्यसमा पानी भरेर आगो निभाउने गरिएको छ । त्यसरी गर्दा जतिजति हाइट बढ्दै जान्छ, त्यतित्यति हेलिकोप्टरको पानी बोक्ने भार क्षमता घट्दै जाने हुन्छ ।
दमौलीमा भएको आगलागी नियन्त्रण गर्नका लागि हेलिकप्टरले प्रत्येक ट्रिपमा हजार लिटर पानी बोकेको थियो । काठमाडौँमा लागेको आगो निभाउँदा आठ सय लिटर र लुक्लामा भएको लागलागी नियन्त्रण गर्न सात सय लिटर पानी बोकेको थियो । यसरी एयरले आगो निभाउने काम गर्दै आएको छ ।
हेलिकोप्टरमा क्याप्टेन सिदार्थजंग गुरुङ र क्याप्टेन सुरेन्द्र पौडेल रहनु भएको थियो । उहाँहरुसँग अग्नि नियन्त्रक टोली छ । गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेपछि काठमाडौंबाट हेलिकोप्टर दमौली गएको थियो ।
यस्तै, अर्को आगो लागेको जंगल लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलबाट नजिकै रहेको थियो । आगो भीरमा पुगेकाले नियन्त्रणका लागि हेलिकोप्टर मात्रै विकल्प थियो ।
आगलागी धेरै हुनु नै क्षति बढी हुने मुख्य कारण रहेकाले सावधानीका उपाय अवलम्बन गर्नु नै सबैभन्दा राम्रो उपाय रहेको डिभिजन वन कार्यालय हात्तिसारका सूचना अधिकारी शिवराम थापाले बताउनुभयो ।
उहाँका अनुसार परम्परागत रहनसहनले पनि आगलागी धेरै हुन्छ । विपत् तथा जोखिम न्यूनीकरण गर्ने गरी लगानी गर्ने चलन अझै नेपालमा छैन । त्यसले आगो छिट्टै निभाउन सकिने हुँदैन । सावधानी अपनाउने हो भने मात्र पनि आगलागी र यसबाट हुने क्षति घटाउन सकिने हुन्छ । आगलागी हुनुभन्दा हुन नदिनु अर्थात् पूर्वतयारीमा लगानी अभाव रहेको उहाँको भनाइ छ
समाचार गोरखापत्र बाट
साभार गरिएके हो
प्रतिक्रिया दिनुहोस्