मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागि भन्दै अभियान सुरु गरेका छन् ।
शनिबार मनहरी गाउँपालिका–८ स्थित पिस पार्कमा युवा व्यवसायी राजेश भेटवालको नेतृत्वमा मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका प्रमुख, वडाका अध्यक्षहरुसंग बहस मुलक कार्यक्रम चलेको हो ।
युवाहरुले जनप्रतिनिधि सहित बहसमुलक कार्यक्रमको आयोजना गर्दै स्थानीय तहबाटै राज्यस्तरमा गाँजाखेतीको वैधानिकता कायम गर्नुपर्ने बताए ।

मकवानपुर जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका गाँजा खेती हुने क्षेत्र भनिने यस क्षेत्रबाट वर्षेनी सयौं युवाहरु गाँजा बोकेका कारण जेल जीवन विताउन बाध्य भइरहेको सुनाए  ।
स्थानीय तह, प्रदेश र संघीय सरकारले यस विषयमा ध्यान नदिदा ‘गाँजा बोक्ने भरिया पक्राउ परेर युवाहरुको जिवन संकटमा परेको बताएका हुन् ।

भेटवालको नेतृत्वमा लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन चलेको र कार्यक्रममा गाँजा बोक्दा जेल जीवन बिताइरहेका भरियाको परिवारको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय सदस्य समेत रहेका भेटुवालको नेतृत्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिका अध्यक्ष लोक मोक्तानले गहन ढङ्गले तथ्यांक राख्ने र बहसमा उठाइएको गाँजाको वैधानिकताका लागि प्रदेश र संघीय सरकार समक्ष पुर्याइने बताए ।

स्थानीय तह, प्रदेश र संघीय सरकारले यस विषयमा अब निर्णय गर्न ढिलाई गर्न नहुने र ‘गाँजा बोक्ने भरियालाई पक्राउ गरी अन्याय गरेको र जेलजीवन विताइरहेकालाई रिहाइ गरिनुपर्ने राजेश भेटुवालले बताए ।
राज्यले वैधानिकताको सवाल उठाउने अनि मौन बस्ने गर्दा सोझा जनताहरु समस्यामा परिरहेकाले यस विषयको सुनुवाइ नभएमा आन्दोलन समेत गरिने बताए ।
भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा. भोला भट्टराई, मनहरी–७ का वडा अध्यक्ष ठाकुराम तितुङ लगायतको उपस्थिति रहेको थियो भने युवा अभियन्ता सन्तोष थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी